जिल्ला प्रशासन कार्यालय पर्साको सार्वजनिक अपिल
जिल्ला प्रशासन कार्यालय, पर्साको सार्वजनिक अपिल
आदरणीय पर्सा जिल्लाबासी दाजुभाइ तथा दिदीबहिनीहरू, सुनसरी जिल्लामा हालै विकसित घटनाक्रमको पृष्ठभूमिमा देशका विभिन्न जिल्लाहरूमा भइरहेका प्रदर्शन, विरोध र त्यसबाट सिर्जित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साको गम्भीर ध्यानाकर्षण भएको छ।
पर्सा जिल्ला ऐतिहासिक कालदेखि नै बहुसांस्कृतिक, बहुधार्मिक एवं आपसी सामाजिक सद्भावको एक विशिष्ट र अनुकरणीय केन्द्र रहँदै आएको सर्वविदितै छ। यहाँका सबै समुदायले एक-अर्काको धार्मिक आस्था, परम्परा र संस्कृतिलाई सधैं आदर र सम्मान गर्दै आएका छन्।वर्तमान समयमा सामाजिक सद्भावमा खलल पुग्न सक्ने, सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने र सम्भावित दङ्गा वा हिंसात्मक गतिविधि हुन सक्ने जोखिमलाई दृष्टिगत गरी स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम यस जिल्लाको सुरक्षा संवेदनशीलता रहेका तोकिएका क्षेत्रहरूमा मिति २०८३।०४।१५ गते विहान ६:०० बजेसम्म निषेधाज्ञा जारी गरिएको ब्यहोरा सबैमा अवगत नै छ। यस संवेदनशील र जटिल घडीमा जिल्लाको शान्ति सुव्यवस्था, अमनचयन र धार्मिक सहिष्णुता अक्षुण्ण राख्न पर्सा जिल्लाका समस्त आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नागरिक समाज, धार्मिक गुरुहरू, बुद्धिजीवी एवं सञ्चारकर्मीहरूमा देहाय बमोजिम गर्न/गराउन जिल्ला प्रशासन कार्यालयको तर्फबाट हार्दिक अपील गर्दछु:
- निषेधाज्ञाको पूर्ण पालना गरौं: स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको आदेशलाई पूर्ण रूपमा पालना गरी तोकिएको समय र क्षेत्रमा अनावश्यक रूपमा घर बाहिर ननिस्कन, भेला/जम्मा नहुन, जुलुस वा प्रदर्शन नगर्न/नगराउन हुन सख्त अनुरोध गरिन्छ।
- भ्रामक र उत्तेजक सामग्री सम्प्रेषण नगरौं: सामाजिक सञ्जाल (फेसबुक, टिकटक, ईन्स्टाग्राम आदि) मार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति सुरक्षामा आँच पुर्याउने खालका भ्रामक समाचार, अफवाह, फोटो वा भिडियोहरू पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न हुन आग्रह गरिन्छ। त्यस्ता गतिविधिमा संलग्न फेला परेमा विद्युतीय कारोबार ऐन तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।
- कानुन हातमा लिने प्रयास नगरौं: कुनै पनि प्रकारको विवाद, असहमति वा गुनासोको समाधान शान्तिपूर्ण संवाद र कानुनी प्रक्रियाबाट मात्र सम्भव छ। भावनामा बगेर कानुन हातमा लिने वा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य पूर्णतः दण्डनीय हुनेछ।
- सुरक्षा निकायलाई सहयोग गरौं: जिल्लाको शान्ति सुरक्षालाई चुस्त-दुरुस्त राख्न सुरक्षा निकायहरू चौबीसै घण्टा उच्च सतर्कताका साथ परिचालन गरिएका छन्। समाजमा कुनै पनि शङ्कास्पद गतिविधि, अफवाह वा सद्भाव बिगार्ने प्रयास भएको पाइएमा ढिलो नगरी तुरुन्तै नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराई सहयोग गरिदिनुहोला।
विविधतामा एकता नै हाम्रो असली शक्ति र पहिचान हो। हाम्रो सानो संयमता र जिम्मेवारीपूर्ण व्यवहारले जिल्लालाई ठूलो संकटबाट जोगाउन सक्छ। यस विशेष परिस्थितिमा राज्य र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गरी नागरिक कर्तव्य निर्वाह गरिदिनुहुन पुनः हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
भोला दाहाल
प्रमुख जिल्ला अधिकारी
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| सार्वजनिक_अपिल(1).jpg | 1.83 MB |
