संस्था दर्ता प्रकृया २०७८ साल साउन १ गतेबाट लागु भएको
2078-04-08
2078-04-08
संस्था दर्ता सम्बन्धी केही जानकारीहरु
- संस्था दर्ता तथा नविकरणको लागि कहाँ सम्पर्क गर्ने ?
संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालय, पर्साको स्थानीय प्रशासन फाँट (कोठा नं-१३) मा सम्पर्क राख्नु पर्दछ । र संस्था दर्ता र नविकरणको लागि तोके बमोजिमको कागजातहरु लिएर आउनु पर्छ ।
- संस्था दर्ताको प्रकृया के बाट शुरु गर्ने ?
संस्था दर्ता गराउने ईच्छुक ब्यक्तिहरुले संस्थाको नाम र उद्देश्य पहिलानै किटान गरी सो नामको संस्था पहिले यस जिल्लामा दर्ता भए/नभएको यकिन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साको स्थानीय प्रशासन फाँट (कोठा नं-१३) मा आई नाम भिडाउनु पर्ने हुन्छ । नाम भिडान भए पश्चात इच्छुक व्यक्तिहरुले तदर्थ/प्रबन्ध समितिको कम्तीमा ३ (तीन गुणा) को संख्यामा भेलाको आयोजना गरी देहाय बमोजिम माईन्युट (माईन्युट-१) र निर्णयहरु गरी सबैले हस्ताक्षर गर्नु पर्दछ । यस पछि भेलाको निर्णयबाट गठन भएको तदर्थ समितिको अर्को बैठक बसी अर्को माईन्युट (माईन्यूट-२) गर्ने जसको नमूना तल देखाईएको छ ।
- संस्थाको नाम र विधानमा उल्लेख गर्नु पर्ने विषयको बारेमा केही जानकारी :
संस्थाको नाम राख्दा नेपाली शब्दकोषमा संग्रहित शब्दहरुबाट चयन गर्नु पर्दछ । नेपाल भन्दा बाहिर समेत कार्यक्षेत्र हो कि भन्ने बुझाउने शब्दहरु (जस्तै : विश्व, अन्तर्राष्ट्रिय, अन्य देशका नामहरु), धर्महरु (जस्तै : हिन्दु, बौद्ध, इसाई, ईस्लाम लगायत), प्रतिष्ठान, ट्रष्ट, उपभोक्ता समिति, गुठी, संस्थान, विकास समिति लगायतका शब्दहरुका साथै विभिन्न धर्म, जातजाती तथा सम्प्रदायको आस्थामा ठेस पुग्ने शब्दहरु संस्थाको नाम तथा विधानमा उल्लेख गर्न पाईने छैन ।
संस्थाको उद्देश्य तय गर्दा नेपाल सरकारका विभिन्न निकायहरु तथा अन्य कानूनद्वारा स्थापित संस्थाहरु (जस्तै : संस्थान, बैंक तथा वित्तीय संस्थाहरु, सहकारीहरु, प्रा.लिहरु) का उद्देश्यहरु जस्तो नभई गैरराजनीतिक, गैरनाफामूलक सामाजिक संस्थासँग सम्बन्धित विषयहरु मात्र उल्लेख गर्नुपर्छ । महासंघ वा व्यवसायसँग सम्बन्धित ब्यक्तिहरु सदस्य रहने संस्था भए सिन्डिकेट/कार्टेलिङ तथा बजारको प्रतिस्पर्धा नियन्त्रण गर्ने विषय उद्देश्यमा उल्लेख गर्न पाईने छैन ।
- संस्था दर्ताको लागि के के कागजातहरु संलग्न राख्नु पर्छ ?
- संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालय, पर्सालाई संबोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरुले हस्ताक्षर गरेको तोकिएको ढाँचा (कोठा नं १३ वा कार्यालयको वेवसाईटबाट प्राप्त गर्न सकिने) को निवेदन ।
- सम्बन्धित स्थानीय तह (महानगरपालिका/नगरपालिका/गाउँपालिका) को सिफारिस ।
- नेपाली कागजमा प्रिन्ट गरी तदर्थ समितिका सम्पूर्ण पदाधिकारीहरुले प्रत्येक पानामा हस्ताक्षर गरेको ४ प्रति विधान ।
- संस्थाको तदर्त समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नं, ईमेल, हस्ताक्षर र फोटो सहितको विवरण ।
- स्वयंले प्रमाणित गरेको तदर्थ समितिका सबै पदाधिकारीहरुको नागरिकताको फोटोकपी ।
- व्यापार, ब्यवसाय सञ्चालन गरेका ब्यवसायीहरुको संस्था भएमा संस्थाका पदाधिकारीहरुले सञ्चालन गरेको ब्यवसाय इजाजत/अनुमती लिनुपर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपि र कर चुक्ताको प्रतिलिपि अनिवार्य।
- संस्था दर्ताको लागि माथि निवेदन दिईसकेपछि जिल्ला प्रशासन कार्यालयले थप के के कार्य गर्छ?
माथि वुंदा नं ४ मा उल्लेखित कागजातहरु सहित निवेदन प्राप्त भए पछि जिल्ला प्रशासन कार्यालयले देहाय बमोजिमको कार्यहरु गर्दछ ।
- संस्थाको नाम र उद्देश्यका सम्बन्धमा सम्बन्धित मन्त्रालय, विभाग तथा निकायको राय/प्रतिक्रिया तथा सहमति लिनुपर्ने भए सो को लागि पत्राचार गर्ने ।
- तदर्थ समितिका पदाधिकारीहरु सबैको चालचलन सम्बन्धी प्रहरी प्रतिवेदनका लागि पत्राचार गर्ने ।
- व्यापार/व्यवसाय सञ्चालन गरेका ब्यवसायीहरुको संस्था भएमा संस्थाका पदाधिकारीहरुले सञ्चालन गरेको ब्यवसाय इजाजत/अनुमति लिनुपर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपि र कर चुक्ताको प्रतिलिपि समेत पेश गर्न लगाउने ।
- सनाखतको लागि को को उपस्थित हुनु पर्दछ ?
सनाखत भनेको कुनै काम मेरो विवेक, मेरो जानकारीमा बिना कुनै करकाप, डरत्रास, मेरो पूर्ण सहमतिमा भएको भन्ने कुराको प्रमाण भएकोले तदर्थ समितिमा रहेका सबै जना अनिवार्य रुपमा आफ्नो सक्कल नेपाली नागरिकता सहित उपस्थित हुनुपर्दछ ।
- संस्था दर्ताको लागि सामान्यता: कति समय लाग्छ ?
संस्था दर्ताको लागि लाग्ने समय संस्था दर्ता गर्ने सेवाग्राहीले दर्ताको लागि आवश्यक कागजातहरु कति छिटो पेश गर्नु हुन्छ भन्ने कुरामा निर्भर गर्दछ । सामान्यता : चालचलन सम्बन्धी प्रहरी प्रतिवेदन प्राप्त भएर सनाखत सम्पन्न भएको दिन संस्था दर्ताको प्रमाण पत्र र प्रमाणीत विधान उपलब्ध गराएपछि संस्था दर्ताको कार्य सम्पन्न हुन्छ ।
- संस्था दर्ताको लागि कति शुल्क लाग्छ ?
संस्था दर्ताको लागि राजश्य शुल्क रु. १००० (एक हजार) मात्र लाग्छ ।
|
संस्था नविकरणको लागि तपशिल बमोजिमका कागजातहरु
आवश्य लिएर आउनुपर्ने हुन्छ ।
- नविकरणका लागि संस्थाको लेटर प्याडमा जिल्ला प्रशासन कार्यालय, पर्सालाई संवोधन गरी तोकिएको ढाचाँ अनुसारको निवेदन ।
- संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली ।
- कुल साधारण सदस्य संख्या खुलाएको नामावलीसहितको प्रमाणित विवरण र साधारणसभा/विशेष साधारण सभामा उपस्थित संख्याको विवरण ।
- विधान सम्मत साधारण सभाले चालु आ.ब.को लागि लेखा परीक्षक नियुक्ति, सम्बन्धित आ.व.को लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र कार्य समितिको छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष र सचिवले प्रमाणित गरेको प्रलिलिपि र सम्बन्धित आ.ब.को वार्षिक कार्य प्रगति विवरण (Annual Report) ।
- संस्थाको पान (PAN) दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाण पत्र र सम्बन्धित आ.ब.को लागि आन्तरिक राजश्व कार्यालयको सिफारिस ।
- बैदेशिक सहयोगको कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदको कार्यक्रम स्वीकृत पत्र र कार्यक्रम अनुगमनको प्रतिवेदन, स्थानीय तह/ प्रदेश सरकारको कार्यक्रम संचालन गरेको भएमा सम्बन्धित स्थानीय तह/ प्रदेशको स्थलगत अनुगमन प्रतिवेदन र कार्यसम्पादन प्रतिवेदन सहितको सिफारिस ।
- बालगृह संचालन सम्बन्धी संस्था भए बालगृह श-शुल्क वा नि:शुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस ।
- लेखापरिक्षकको प्रमाणपत्र, पान (PAN) दर्ता प्रमाण पत्र, करचुक्ता प्रमाण पत्र ।
| Name of File / Title | File Size | Action |
|---|---|---|
| संस्था_दर्ता_सम्बन्धी_जानकारी.docx | 25.12 KB | View Download |
| संस्थाको_विधानको_नमूना_नयाँ.docx | 45.66 KB | View Download |
