नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पर्सा


  पर्साकाे परिचय

पृष्ठभूमि :–
    नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अंचलमा पर्ने पाँच वटा जिल्ला मध्ये पर्सा जिल्ला पनि एक हो । झण्डै चराको टाउको जस्तो आकारको भु–आकृति रहेको यस जिल्लाको नामाकरण कसरी पर्सा रहन गयो भन्ने सम्बन्धमा खोजी गर्दै जाँदा जिल्लाको महुवन गा‌‌.वि.स. स्थित महुवन गाँउमा रहेको पारसनाथको मठको नामबाट जिल्लाको नाम पर्सा रहन गएको भन्ने उक्ती रहेको पाईन्छ, जुन मठको निर्माण मकवानी राजा माणिक्य सेनले ई.सं. १७०७ मा गरेका थिए भन्ने कुरा पनि इतिहांसकारहरु बताउने गर्दछन् । यस जिल्लाको तत्कालिन सदरमुकाम हालको अलौ भन्ने स्थानमै रहेको पाइन्छ भने पछि आएर श्री ३ विर शम्सेरको प्रधानमन्त्रित्व कालमा पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारी उनैको नाममा वीरगंज नामाकरण गरिएको हो भन्ने भनाई छ । हाल उक्त अलौ भन्ने स्थानमा देशको एक मात्र सुख्खा बन्दरगाहाको निमार्ण भई संचालनमा आईरहेको छ । तराई भु–भाग नेपालकै अन्न भण्डारको रुपमा प्रख्यात रहंदै आएको छ भने यसै भु–भागमा पर्ने पर्सा जिल्ला यतिले मात्र नभइ समग्र नेपालकै प्रमुख बाणिज्यद्धारको रुपमा समेत रहेको पाईन्छ ।  पर्सा जिल्लाको वीरगंज उप महानगरपालिकाको ईनरुवा गाँउ देखी ठोरी गा.वि.स.सम्म पुवं पश्चिम अं १०७ कि.मी. भु–भाग मित्रराष्ट्र भारतको विहार राज्य अन्तर्गत पुर्वि चम्पारण र पश्चिम चम्पारण जिल्ला संग जोडिएको छ ।
 

भौगोलिक अवस्था :–
    पर्सा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने प्रमुख व्यापारिक नाका तथा औधोगिक क्षेत्र भएको तराई तथा मधेश क्षेत्रमा पर्ने एक प्रमुख जिल्ला हो । यो जिल्ला समुदी सतहदेखी १२२ देखि ९२५ मिटर सम्मको उचाइमा फैलिएको छ । यस जिल्लाको हावापानी उष्ण र समशितोष्ण प्रकृतिको छ ।  जिल्लाको कुल क्षेत्रफल १३५३ वर्ग कि.मि.छ । जसमा कृषि योग्य भूमि ५४७३२ हेक्टर, खेती गरिएको भूमि ५००४६ हेक्टर, सिंचित क्षेत्र २६०६० हेक्टर, वन जंगलले ढाकेको क्षेत्र ९७०११ हेक्टर,  चरण क्षेत्र २८५६ हेक्टर, र  अन्य ४२३१ हेक्टर पर्दछ । यस जिल्लामा रहेको पर्सा बन्य जन्तु आरक्ष क्षेत्रलाई नेपाल सरकार मन्त्री परिष्दको निर्णय बमोजिम पर्सा राष्ट्रिय निकुञ्जमा परिणत गरिएको छ र चितवनको केही भू–भाग पनि यस राष्ट्रिय निकुञ्जमा पर्दछ ।
 



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय